प्रचण्ड’ र माधवले किन ओलीलाई साधारण सदस्य नै नरहने गरी निकाले ?

२ फाल्गुन २०७९, मंगलवार १६:४७

साविक नेकपाभित्रको विवादमा आफूलाई पार्टीबाट साधारण सदस्य नै नरहने गरी निष्कासन गरेको स्मरण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् ।

पार्टीभित्रको विवादमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले आफूलाई पार्टीबाटै हटाएको अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओली सम्झिए । पार्टीभित्र आफूलाई घेराबन्दीमा पारेर वामपन्थी आन्दोलनलाई दुईतिहाइको स्थितिमा पुर्‍याउँदा पनि जोगाउन नदिएको बताए ।

उनले प्रचण्ड माधवलाई संकेत गर्दै भने, ‘बहुत दुःखको कुरा हो । त्यस स्थितिलाई जोगाउन सकेनौं । जोगाउन दिइएन । बाहिरको प्रहार सजिलै झेल्थ्यौँ तर, भित्रैको प्रहार झेल्न सकेनौं । भित्रैको प्रहारले हामीलाई ध्वस्त बनायो । एमालेलाई कब्जा गरेका थिए । अध्यक्षलाई त भविष्यमा पनि सदस्य हुन नपाउनेगरी साधारण सदस्यबाटै निकालेका थिए । कत्रो चारकिल्ला ठोकेको ।’