लोत्से मलमा तोडफोड समान नै उठाए प्रदर्शनकारीले

२ फाल्गुन २०७९, मंगलवार ०८:३२

यातायात मजदुरमाथिको कुटपिटको विरोधमा बालाजु क्षेत्र सोमबार अपरान्हदेखि तनावग्रस्त रह्यो । सहकर्मीमाथि कुटपिट भएको भन्दै यातायात मजदुरले बाटो नै बन्द हुने गरि गाडि तेस्र्याए । आन्दोलन नरोकिएपछि नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज  गर्यो  । प्रतिवाद गर्दै मजदुरहरु पनि ढुङ्गामुढामा उत्रिए ।स्थिति थप तनावग्रस्त बन्यो । अराजक प्रदर्शनकारी यति मै रोकिएनन् । उनीहरुले प्रहरीको भ्यान र अस्थायी प्रहरी विटमै आगो लगाए ।

त्यति मात्रै होइन्, आन्दोलनकारीको अर्को डरलाग्दो र लज्जित पार्ने रुप तव देखियो जब एक हुल प्रर्दशनकारी नयाँ बसपार्कस्थित लोत्से मलमा प्रवेश गर्यो । भिडमा रहेका मध्ये एक प्रदर्शनकारीले मलको शिशामा ढुङ्गा प्रहार गरे । अर्कोले गमला उठायो । शिशामा बजार्यो । भिड मोवाईल पसलभित्र छिर्यो । पसल भित्रको ‘सो केस’ फोडियो । र्याकभित्र राखिएका मोवाइल बोकेर उनीहरु दौडिन थाले ।

हेर्दा हेर्दै भरिभराउ पसल क्षणभरमै साफ बन्यो । दृश्यमा देखिएअनुसार पसल फोड्नेहरुको उद्देश्य नै लुट मच्चाउने देखिन्छ । आन्दोलनका नाममा अरुको व्यवसायमा लुट मच्चाउने कार्य निश्चय पनि निन्दनीय छ ।

आन्दोलनको नाममा अराजकता मच्चाउने र त्यस्ता गतिविधीमा संलग्न हुनेहरुलाई कडा कारबाही नहुने हो भने आगामी दिनमा कानूनी राज्य र मानिसको गरिखान पाउने अधिकारमाथि गम्भिर आघात पुग्ने छ ।