समयअनुसार सवारीसाधन पनि एक आवश्यक बस्तु भइसकेको हुनाले अब सवारीसाधन विलासिताको वस्तु नभएको अर्थमन्त्रीले बताएका छन् । शुक्रबार काठमाडौंमा सम्पन्न नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४६औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले नेपालमा विद्युतीय सवारीसाधनको आवश्यकतासमेत बढेको बताएका छन् ।
‘कुनै समय मोबाइल फोन पनि विलासिताको वस्तुभित्र पर्थ्यो । नेताहरूले पनि म मोबाइल फोन प्रयोग गर्दिनँ भनेर स्पष्टीकरण दिनुपर्थ्यो,’ उनले भने, ‘तर, अहिले मोबाइल अत्यावश्यक वस्तुभित्र परिसकेको छ । त्यसैगरी, अटोमोबाइल पनि अत्यावश्यक वस्तुभित्र परिसकेको छ । सडक पूर्वाधार अत्याश्वक हो भनेर लगानी गर्दै जाने, त्यही सडकमा गुड्ने सवारीसाधन भने विलासिताको वस्तु हो भन्न मिल्दैन ।’
नेपालमा विद्युत् उत्पादन बढ्दै गएको, तर इन्धनको आयात गर्दा ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिएको उनको भनाइ छ । उनले भने, ‘त्यो अवस्थामा अब विद्युतीय सवारीसाधनको प्रयोग बढाउनैपर्नेछ, त्यो पनि सामान्य गतिमा होइन, द्रुत गतिमा ।’
यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अटोमोबाइल क्षेत्र अर्थतन्त्रको खम्बा भएको बताए । ‘सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने, सबैभन्दा बढी कर तिर्ने र अर्थतन्त्रलाई चलायमान बनाउने क्षेत्र नै यही हो,’ उनले भने, ‘यदि यो क्षेत्र समस्याग्रस्त भयो भने अर्थतन्त्र नै चलायमान हुँदैन । तसर्थ, यसलाई सरकारले सोहीअनुरूप हेर्नुपर्छ ।’
