प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रमचन्द विप्लवले भेटेका छन् ।
प्रधानमन्त्री प्रचण्डसँग नेकपा महासचिव विप्लवले बिहीबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवास भेटवार्ता गरेका हुन् । यो पछिल्लो एक सातामै प्रचण्ड र विप्लवको दोस्रो भेट हो । यसअघि यसै साता दुई नेताबीच भेटवार्ता भएको थियो ।
भेटमा तत्कालीन सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिकार्यान्वयन, मुलुकको जटिल र संकटपूर्ण आर्थिक राजनीतिक परिस्थिति, नेपालमा कम्युनिस्ट शक्तिहरूको धुर्वीकरणको आवश्यकताबारे कुराकानी भएको विप्लवको सचिवालयले जनाएको छ ।
तीन बुँदे सहमतिअनुसार बन्दी नेता कार्यकर्ता रिहा गर्न सरकार सकारात्मक रहेको जवाफ प्रधान्मन्त्री प्रचण्डले दिएका थिए । बुधबार मात्रै एमाले अध्यक्ष केपी ओलीलाई विप्लवले भेटेका थिए ।
