कलाकार नीर शाहले चलचित्र विकास बोर्डको सल्लाहकार समिति संयोजकबाट राजीनामा दिएका छन् । शाहसहित दुई सदस्यले राजीनामा दिएका हुन् ।
बुधबार बेलुका बोर्डका सदस्य सचिव, संचार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव टंकबहादुर महतले शाह र सदस्य सुशान्तकुमार श्रेष्ठले राजीनामा दिएको जानकारी गराए।
यस्तै यसअघि चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काको राजीनामा दिएका थिए । खड्काले राजीनामा दिएको साता नबित्दै संयोजक समेत रहेका शाहले राजीनामा दिएका छन्। अध्यक्ष भुवन केसीले तीन महिनाअघि शाहको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेका थिए ।
सदस्य सचिव महतले भने, ‘सक्रिय भूमिका निर्वाह गर्न नसकिएको कारण देखाउँदै उहाँले राजीनामा दिनुभएको छ । कानूनीरुपमा पनि सल्लाहकार समिति भन्ने छैन । सम्भवतः उहाँले सक्रिय हुन नसकेको महसुस गर्नुभएकाले राजीनामा दिनुभएको होला ।’
शाहले पनि कार्यव्यस्तताको कारण आफूले राजीनामा दिएको बताए । आफू केशव भट्टराईको पालादेखि नै सदस्य रहिआएको बताउँदै शाहले वर्तमान अध्यक्ष केसीले सल्लाहकार समितिमा धेरै मान्छे राखेकोप्रति असन्तुष्टि व्यक्त गरे । शाहसहित सुशान्त र रविन्द्रको राजीनामा पत्रमा उल्लेख भएअनुसार सल्लाहकार समितिको सल्लाहलाई बोर्डले ध्यान नदिएको उल्लेख छ ।
