नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच (भोलि) बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ । उक्त बैठकमा राष्ट्रपतिको उम्मेदवारको विषयमा पनि छलफल हुने भएको छ ।
प्रधानमन्त्री प्रचण्ड आज बिहान ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका थिए । एमाले अध्यक्ष ओली उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक रहेका छन् । सोही भेटवार्तामा बिहीबार राजनीतिक संयन्त्रको बैठक बोलाउने र राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्ने प्रधानमन्त्री प्रचण्डले बताए ।
बालकोटबाट बाहिरिने क्रममा प्रचण्डले भने, ‘सहज ढंगले कसरी अघि बढ्ने भन्नेबारे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा छलफल गर्छौं, राष्ट्रपतिको उम्मेदवारबारे पनि छलफल हुन्छ ।’
राष्ट्रपति पदको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ । तर सत्ता साझेदार दलबीच नै राष्ट्रपतिको उम्मेदवारबारे एक मत छैन । एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने अडान राख्दै आए पनि प्रधानमन्त्री प्रचण्ड सहमत छैनन् । यही मतभेदका कारण सत्ता साझेदार दलबीच खटपट भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले आज ओलीसँग भेटवार्ता गरेका हुन् ।
यस्तै सत्ता साझेदार दल मध्येको राष्ट्रि स्वतन्त्र पार्टी सरकारबाट बारिएको छ ।
