विदेश भ्रमण र पढ्न जाने नेपालीद्वारा साढे ५१ अर्ब बाहिरियाे

२४ माघ २०७९, मंगलवार १४:५६

चालु आर्थिक वर्षको छ महिनामा विदेश भ्रमण र पढ्न जाने नेपालीले साढे ५१ अर्ब रुपैयाँ खर्च गरेका छन् ।

नेपाल राष्ट्र बैंककाे तथ्याङ्क अनुसार साउनदेखि पुससम्म विदेशमा घुम्न जाने र शिक्षाका लागि जाने नेपालीले ५१ अर्ब ४५ करोड रुपैयाँ खर्च गरेका छन् । भ्रमणका लागि १६ अर्ब नौ करोड र शिक्षाका लागि ३५ अर्ब ३६ करोड रुपैयाँ विदेशिएको तथ्याङ्कमा छ ।

अघिल्लो वर्षको पहिलो छ महिनामा नेपालीले विदेशमा साढे ३२ अर्ब रुपैयाँ खर्च गरेकामा शिक्षातर्फ १७ अर्ब ४८ करोड रुपैयाँ खर्च गरेका थिए ।
छ महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय ५८.५ प्रतिशतले बढेको छ । यस्तै भ्रमण व्ययसँगै आय पनि बढेको छ । छ महिनामा भ्रमण आय अर्थात् विदेशीले नेपालमा गर्ने खर्च १ सय ६.९ प्रतिशतले बढेर २८ अर्ब आठ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको छ महिनामा विदेशीले नेपालमा १२ अर्ब ९४ करोड रुपैयाँ खर्च गरेका थिए ।