औसत ब्याजदर १२.७९ प्रतिशत पुग्याे

२४ माघ २०७९, मंगलवार १३:३९

चालु आर्थिक वर्षको ६ महिनामा बैंकको ब्याजदर ३.३५ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पुसमसान्तमा ९.४४ प्रतिशत रहेको कर्जाको भारित औसत ब्याजदर यस वर्ष १२.७९ प्रतिशत पुगेको हो ।

समीक्षा अवधिमा यता निक्षेपको औसत भारति ब्याजदर समेत २.१४ प्रतिशतले वृद्धि हुँदै पुस मसान्तमा ८.५१ प्रतिशत पुगेको रास्ट्र बैंकले जानकारी दिएकाे छ । अघिल्लो आर्थिक वर्षको पुस मसान्तमा बैंकहरुको औसत भारित निक्षेपको ब्याजदर ६.३७ प्रतिशत रहेको थियो । यस्तै, समीक्षा अवधिमा अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर ४.७६ प्रतिशतबाट बढेर ७.४८ प्रतिशत पुगेको र मौद्रिक नीतिको संचालन लक्ष्यको रुपमा लिइने औसत अन्तर–बैंक ब्याजदर २०७९ पुसमा ७.५३ प्रतिशत पुगेको बैंकले उल्लेख गरेकाे छ ।
अघिल्लो बर्षको सोही महिनामा यस्तो ब्याजदर ४।७७ प्रतिशत रहेको थियो । यता ट्रेजरी बिलतर्फ भने २०७८ पुसमा भारित औसत ब्याजदर ५.०७ प्रतिशत रहेकोमा २०७९ पुसमा ५.८२ प्रतिशतले बढ्दै १०.८९ प्रतिशत पुगको बैंकले जनाएको छ ।