राष्ट्रिय सभा उपाध्यक्ष पदमा कांग्रेसले उम्मेदवारी नदिने, माओवादीलाई समर्थन गर्ने

२२ माघ २०७९, आईतवार ११:४१

राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेपाली कांग्रेसले उम्मेदवारी नदिने भएको छ।

नेकपा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई कांग्रेसले समर्थन गर्ने निर्णय गरेको छ। कांग्रेसले उम्मेदवार नदिने भएपछि राष्ट्रिय सभामा उर्मिला अर्याल सर्वसम्मत हुने सम्भावना छ।

सत्ता साझेदार दलले माओवादी केन्द्रबाट राष्ट्रियसभामा सांसद बनेकी अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। राष्ट्रपतिमा राष्ट्रिय सहमतिका आधारमा उम्मेदवार बनाउने चर्चा चलिरहेका बेला माओवादीप्रति एमाले सशंकित बनेको छ।

गत पुस १० मा भएको सहमति अनुसार आफूले राष्ट्रिपति पाउनु पर्ने माग गरिरहेको एमालेलाई माओवादीले नसघाउने संकेत गरिसकेको छ। माओवादीबाट बनेका मुख्यमन्त्रीलाई कांग्रेसले सघाउँदै आएको छ। उसले बागमतीमा माओवादीबाट मुख्यमन्त्री बनेका शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिएको थियो।