सर्वोच्च अदालतले ग्राहकसँग लिँदै आएको १० प्रतिशत सेवा शुल्क होटेल तथा रेस्टुरेन्टले लिन नपाउने फैसला गरेपछि श्रमिक आन्दोलित भएका छन् । अहिले श्रमिकले कालोपट्टी र फेटा बाँधेर काम गरिरहेका छन् ।
सर्वोच्चको फैसलासँगै होटेल, लज, मोटेल, रेस्टुरेन्ट, फुडकोर्टलगायत सञ्चालन गरेका व्यवसायीले ग्राहकसँग १० प्रतिशत सेवा शुल्क उठाउन नपाउने भएका हुन । वर्षौँदेखि लदिै आएको सुविधा कटौती भएको भन्दै सो सुविधा यथावत् कायम राख्न दबाब दिँदै श्रमिकहरु आन्दोलित भएका हुन् । पर्यटन होटेल सम्बद्ध केन्द्रीय संयुक्त संघर्ष समितिले १८ माघमा सोल्टी होटेलमा बृहत् आमसभा गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
संघर्ष समितिले १९ माघदेखि २६ माघसम्म सबै होटेल, रेस्टुरेन्टलगायतका मूल गेटमा कालो ब्यानर राख्ने, सबै श्रमिकहरूले कालोपट्टी र फेटा बाँधेर काम गर्ने, दैनिक प्ले कार्डसहित धर्ना तथा कोणसभा गर्ने, प्रतिष्ठानस्तरीय संयुक्त संघर्ष समिति गठन गर्ने, आन्दोलनको जानकारीपत्र र ज्ञापनपत्र व्यवस्थापनलाई दिने र सातवटै प्रदेशमा संघर्ष समिति गठन गर्ने कार्यक्रम रहेको छ ।
श्रमिकले सुविधा यथावत् राख्ने निर्णय नभएमा २७ माघदेखि सबै होटेल तथा रेस्टुरेन्टको बुकिङ गराउने चेतावनी दिएका छन् । साथै, एरियागत रूपमा विरोधसभा गर्ने पनि बताइएको छ । यदि माग सम्बोधन नभएमा ७ फागुनदेखि पर्यटन क्षेत्रमा अनिश्चितकालीन हडताल गर्ने संघर्ष समितिको कार्यक्रम छ ।
