
रास्वपालाई पूर्वाधार मन्त्रालय लिन प्रस्ताव, अब के गर्छ रास्वपा ?
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले गृह मन्त्रालयकाे साटाे भाैतिक पूर्वाधार मन्त्रालय लिन प्रस्ताव गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीकाे बैठक आज पनि बस्दैछ जसमा यसबारे छलफल हुनेछ। यसअघि शनिबार बसेकाे बैठक बिनानिष्कर्ष टुंगिएको थियाे ।
गृह नपाए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएकाे रास्वपाकाे शनिबार राति ११ बजे सकिएकाे बैठकमा राष्ट्रपति र राष्ट्रियसभा उपाध्यक्षकाे चुनावबारे मात्रै छलफल भएकाे प्रमुख सचेतक सन्ताेष परियारले बताए । सरकारबाट बाहिरिने कि नबाहिरिने भन्नेमा व्यापक मतभेद देखिएपछि रास्वपाले कुनै निर्णय लिन नसकेकाे हाे ।
यसबारे निर्णायक छलफलका लागि आज बिहान ११ बजे पुन बैठक बाेलाइएकाे छ । प्रधानमन्त्रीलाई रास्वपाले गएको बिहीबार गृह मन्त्रालयबारे निर्णय दिन दिएकाे दुई दिनको अल्टिमेटम शनिबार सकिएकाे थियाे ।
अल्टिमेटम सकिएपछि बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले कुनै निर्णय लिन नसकेकाे हाे । बैठकमा सभापति रवि लामिछानेले सरकारमा बसौँ किन नबसौँ भनेर राय मागेको र त्यसमा सबैले धारणा राखेको जनाइएको छ । स्राेतका अनुसार सरकारबाट नबाहिरिने पक्षमा धेरै नेताहरू उभिएका छन् ।
