नजिकिँदै कांग्रेस माओवादि, अब के हुन्छ त सत्ता गठबन्धनमा ?

२१ माघ २०७९, शनिबार ०७:५२

सत्ता गठबन्धनभित्र खटपट सुरु भएपछि कांग्रेस र माओवादीबीच अनौपचारिक संवाद सुरु भएको छ । राष्ट्रपति र गृह मन्त्रालयका विषयमा अविश्वास बढिरहँदा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको स्थिरताका निम्ति कांग्रेससँग सहकार्य गर्ने विकल्पमा समेत छलफल थालेका बताएका छन् ।

प्रधानमन्त्री दाहालले बिहीबार पार्टीको आन्तरिक बैठकपछि सञ्चारकर्मीसँग सत्ता समीकरण नबदलिने बताए पनि एमाले अध्यक्ष केपी ओली शर्माको प्रस्तुति र सरकारमा सहभागी मन्त्रीहरूबाटै व्यक्त भइरहेका व्यवस्थाविरोधी अभिव्यक्तिले दाहाल गठबन्धनप्रति विश्वस्त हुन सकेका छैनन् । पुस १० मा गठबन्धनसँगै टुटेको विश्वासलाई जोड्न प्रधानमन्त्री दाहाल र कांग्रेस नेताहरूबीच संवाद चलिरहेको हाे। सभापति शेरबहादुर देउवाले कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र संसदीय दलका प्रमुख सचेतक रमेश लेखकसहितका नेतामार्फत दाहालसँग संवाद अघि बढाइरहेका छन् । फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनलाई केन्द्रमा राखेर संवाद चलिरहे पनि पछिल्लो पटक सत्ता समीकरणको निरन्तरतामा जोखिम बढेपछि दुई दलका नेताबीच सम्भावित विकल्पका विषयमा पनि छलफल हुने थालेका हाे।

गृह मन्त्रालय नपाएको झोकमा एकातिर सत्ता गठबन्धनको तेस्रो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने चेतावनी दिइरहेको छ भने अर्कातिर राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने माओवादीको प्रस्तावले एमाले असन्तुष्ट बनेको छ । यही मौकाको उपयोग गर्दै कांग्रेस नेताहरूले पुस १० मा भएको गल्ती सच्याउन चाहेका छन् । माओवादीलाई एमालेबाट अलग गराएर अध्यक्ष दाहाल नेतृत्वकै सरकारलाई निरन्तरता दिने गरी पुरानै गठबन्धन ब्युँताउने कसरत कांग्रेस नेताहरूले गरिरहेका छन् ।