निर्वाचन शिक्षामा करोडौँ लगानी गरेपनि खेर गयो २६ लाख मत

५ पुष २०७४, बुधबार ०२:२६

पुस ५, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनतर्फ जनताले व्यक्त गरेको २६ लाख मत खेर गएको छ । मतदाता शिक्षाका लागि ठूलो रकम खर्च भए पनि मत बदरको अवस्था भने फेरिएको छैन । निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक परिणाम अनुसार २६ लाख १० हजार ९६८ मत बदर भएको छ ।

आयोगले प्रारम्भिक रूपमा सार्वजनिक भएको बदर मतको सङ्ख्या भने घट्ने दाबी गरेको छ । निर्वाचन क्षेत्रगत रूपमा अन्तिम परिणाम सङ्कलन गरी रुजु गर्ने काम भइरहेकाले बदर मतको सङ्ख्या यकिन भइ नसकेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए । ढकालले भने, “बदर मतको अन्तिम सङ्ख्या रुजु हुँदैछ । अहिलेलाई प्रारम्भिक रूपमा सार्वजनिक भएकै बदर मतको सङ्ख्या हो ”

निर्वाचन आयोगले पहिलो र दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभामा ६८ प्रतिशत भन्दा बढी मत खसेको विवरण सार्वजनिक गरेको छ । सङ्ख्यात्मक हिसाबमा एक करोड पाँच लाख ८७ हजार ५२१ मत खसेको छ । जस मध्ये आयोगको वेब पेजमा सार्वजनिक विवरण अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ ९५ लाख ४४ हजार ७४४ मत सदर भएको छ । अर्थात् १० लाख ४२ हजार ७७७ मत बदर भएको छ । खसेको मतका आधारमा बदर मत ९।८४ प्रतिशत हो । प्रदेशसभातर्फ झनै बढी मत बदर भएको छ । कुल मतमा ९० लाख १९ हजार ३३० मत सदर भएको छ । प्रदेशसभामा कुल १५ लाख ६८ हजार १९१ मत बदर भएको छ । कुल मतका आधारमा बदर मत १४।८१ प्रतिशत हो ।
–गोरखापत्र दैनिक