बलात्कार अभियोगपछि साढे तीन महिना निलम्बनमा परेर फुकुवा भएसँगै पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले बुधबार सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो । राष्ट्रिय टिममा फर्काउने अधिकार भने खेलाडी छनोट समितिलाई दिइएको थियो । क्रिकेटका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले टिममा सन्दीपको आवश्यकता देखेर नेपालमा हुने आसन्न चारवटा एकदिवशीय अन्तर्राष्ट्रिय खेलका लागि टिममा समावेश गर्ने निर्णय भएको बताए ।
‘सन्दीप हाम्रो योजनामा रहेको क्रिकेटर हो । उनलाई आज साँझदेखि क्याम्पमा सहभागी हुन भनेका छौं,’ चौधरीले भने, ‘सन्दीपको क्षमताको बारेमा त सायद कसैलाई शंका हुने छैन । फिटनेस र फिजियो चाहीँ हेर्नुपर्छ ।’छनोट समितिले टिममा समावेश गर्ने निर्णयसँगै सन्दीपले बिहीबारै प्रमुख प्रशिक्षक मोन्टी देशाईसँग भेटेर कुराकानी गरेका छन् । र उनले केही खेलाडीसँगै कीर्तिपुरमा पुगेर अभ्यास गरेका छन् ।
