रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, सरकारमा रहने-नरहने बारे निर्णय हुने

१९ माघ २०७९, बिहीबार १३:४०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा रहने वा नरहने निर्णय गर्ने प्रस्ताव तयार पारेर केन्द्रीय समितिको बैठक राख्ने तयारी गरेको छ। महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले बैठक आजै (बिहीबार) साँझ बोलाउने तयारी भइरहेको र सभापति रवि लामिछानेसँग परामर्श भइरहेको जानकारी दिएका छन्।

नेपाली नागरिकता नभएकाे भन्दै १३ माघमा सर्वोच्च अदालतले रविको सांसद पद खारेज गरेको थियो। सांसद पद खारेजीसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद्‍मा उपप्रधान एवम् गृहमन्त्री रहेका रविको सबै जिम्मेवारीबाट हटेका थिए। १५ माघमा नेपाली नागरिकता पुनप्राप्ति गरेपछि रविले आफूलाई गृहमै जिम्मेवारी दिन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।

तर, सर्वोच्चको फैसलाको पूर्णपाठ नआएको, रविको दोहोरो राहदानी राखेर दुरुपयोग गरेको मुद्दाको अन्तिम किनारा नलागेकोले रविलाई कुनै हालतमा फेरि मन्त्रालयमा नल्याउन प्रधानमन्त्रीलाई पार्टीभित्रैबाट दबाब छ। गृहमा फर्काउन प्रधानमन्त्रीले नचाहेको संकेत पाएर रास्वपा सभापति रवि लामिछानेले १७ माघको साझसम्म निर्णय नगरे सरकारबाट बाहिरिने अल्टिमेटम दिएर बालुवाटारबाट निस्किएका थिए। रविले प्रधानमन्त्रीलाई दिएको अल्टिमेटम ७२ घण्टा भइसकेको छ तर, अहिलेसम्म पनि सरकारबाट बाहिर निस्किएको छैन। उता प्रधानमन्त्रीले गृहमन्त्रालय आफैँसँग राख्ने बताएका छन्।

महामन्त्री एवम् प्रवक्ता डा. ढकालले प्रधानमन्त्रीले कुनै जवाफ नपठाएकोले बैठक बसेर निर्णय गर्न लागेको बताए। ‘प्रधानमन्त्रीले गृहमन्त्रीमा अर्को नाम पठाउनु पनि भन्नुभएन, हाम्रो सभापतिलाई पनि पुनः नियुक्त गर्नुभएन,’ ढकालले भने, ‘अब हामी सरकार छोड्नुपर्ने निष्कर्षमा पुगेर बैठक बोलाउन लागेका हौँ।’