पछिल्लो समय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको कार्यान्वयनमा विशेष जोड दिंदै आएको अमेरिकाले यस पटक नेपालको साइबर सुरक्षामा पनि विशेष चासो देखाएको छ ।
नेपालको दुई दिने भ्रमण सकेर भारत जानुअघि पाटन दरबार स्क्वायरस्थित बहादुर शाह भवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अमेरिकाकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले भनिन्– ‘केही दिनअघि मात्र नेपालले साइबर आक्रमणको सामना गर्नुपर्यो । मैले उच्च स्तरिय भेटघाटमा प्रस्ताव गरेको छु, यदि नेपालले चाहन्छ भने यहाँको साइबर सुरक्षालाई मजबुत बनाउन अमेरिकाले आफ्ना विज्ञ प्राविधिकहरू पठाउन सक्छ ।’ उनले भनिन साइबर सुरक्षाको सवालमा अमेरिकाको प्रविधि विश्वमै उच्च भएको जिकिर गर्दै भनिन – ‘साइबर सुरक्षालाई बलियो बनाउने सवालमा अमेरिकाले विश्वभरि नै महत्वपूर्ण साझेदारी गरेको छ ।
जापान र जर्मनीलगायतका राष्ट्रका सरकारसँग पनि अमेरिकाले साइबर सुरक्षामा महत्वपूर्ण साझेदारी गरेको छ । ’उडानदेखि सबै सरकारी कार्यालयहरूको अनलाईन काम प्रभावित भएको थियो । सिंहदरबारस्थित सरकारी सूचना र तथ्यांक राख्ने राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) को कमजोरीका कारण सरकारी तथ्यांकको चोरी, ह्याकिङ, भाइरस, फिसिङ, मालवेयर जस्ता साइबर चुनौती बढेको महालेखा परीक्षाको कार्यायलको सूचना प्रविधिको लेखा परीक्षण प्रतिवेदन–२०७८ मा समेत उल्लेख छ ।
