सोमबार नेप्से सूचकमा फेरी ४१.०१ अंकको गिरावट

१६ माघ २०७९, सोमबार १५:४९

३२ सयको उच्च विन्दुमा पुगेर १८ सयमा झरेर पुनः उकालो लाग्दै गरेको नेप्से सूचक केही दिनयता फेरि घट्न थालेको हो ।

आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार नेप्से सूचक ४१.०१ अंकको गिरावट आउँदै २१२७.५२ अंकमा झरेको छ । आइतबार १४ अंकले घटेको नेप्से सूचक २१६८ अंकमा अडिएको थियो । साथै, नेप्सेमा तीव्र गिरावट आएतापनि अघिल्लो दिनको तुलनामा आज कारोबार भने केही बढेको देखिएको छ । अघिल्लो दिन आइतबार ३ अर्ब १ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज सोमबार ३ अर्ब ३० करोड २२ लाख रुपैयाँ बराबरको ८८ लाख ३६ हजार ४८८ कित्ता सेयर कारोबार भएको छ ।

आज १३ वटै नेप्सेका उपसूचकहरु ऋणात्मक देखिएको हो । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको उपसूचक ३.६१ प्रतिशतले घटेको छ भने फाइनान्स समूहको ३.४२ प्रतिशतले अन्य समूहहरुको उपसूचक क्रमशः १ देखि २.८९ प्रतिशतसम्मले घटेका छन् ।

त्यस्तै , आज दुईवटा कम्पनी लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी ली. र आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।