नपोली कांग्रेसले राष्ट्रपतिमा दाबी गर्न नै नमिल्ने नेकपा एमालेका महासचिव शंकर पोख्रेलले बताएका छन् ।
सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महासचिव पोख्रेलले कांग्रेसले पहिला आफ्नो पोजिसन कुन हो भनेर प्रस्ट पार्नुपर्ने बताए । ‘अहिले कांग्रेस न सत्ता पक्ष, न प्रतिपक्ष जस्तो देखिएको छ,’ उनले भने ‘दिशाहीन अवस्थाको जस्तो देखिएकाले पहिला ऊ सचिन्नुपर्छ ।’
नेपालको लोकतान्त्रिक आन्दोलनको पुरानो पार्टी यस प्रकारको अवस्थामा रहनु दुःखद् रहेको महासचिव पोख्रेलको भनाइ छ । राष्ट्रपति चुनावको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यवहार नकारात्मक नरहेको दाबी समेत उनले गरे । प्रधानमन्त्रीको भूमिकामा शंका गर्ने ठाउँ नरहेको उनको तर्क छ ।
‘राष्ट्रिय सहमति खोज्नुको अर्थ प्रतिपक्षलाई दिनु भन्ने होइन,’ उनले भने, ‘प्रधानमन्त्रीले पनि सत्ता गठबन्धन भित्रबाट नै राष्ट्रपति होस् भन्ने चाहनुभएको छ ।’
अस्थिरता निम्त्याउनका लागि कांग्रेसले प्रयास गरे पनि त्यो सफल नहुने उनले बताए । रवि लामिछानेलाई गृहमन्त्री बनाउन एमाले अध्यक्षले दबाब दिनुभएको हो ? भन्ने प्रश्नमा महासचिव पोखरेलले त्यस्तो कुनै दबाब नदिएको जिकिर गरे ।
गृहमन्त्री कसलाई बनाउने भन्ने विषय सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीबीच छलफल भएर मात्रै टुंगोमा पुगिने उनले बताए । उनले रवि लामिछानेको मुद्दाको फैसलाप्रति असन्तुष्टि समेत व्यक्त गरेका छन् । न्यायालयको भूमिका निष्पक्ष नदेखिएको उनको आरोप छ ।
