तरलता अभावको कारण देखाउदै सहकारीले पैसा नदिएपछि अहिले बचतकर्ताहरु समस्यामा

१५ माघ २०७९, आईतवार १६:२३

देशको आर्थिक अवस्था अझै सुध्रि नसकेको अवस्थामा बैंक तथा वित्तीय संस्था एवं सहकारीहरुमा तरलताको अभाव कायमै रहेको छ । सोहि  कारण देखाउदै  सहकारीले पैसा नदिएपछि अहिले बचतकर्ताहरु समस्यामा परेका छन् ।

सहकारीले रकम नदिएकैले बचतकर्ताहरु आफूलाई प्रभावमा पारी सदस्य बनाउने तथा बचत रकम लिएर जाने बजार प्रतिनिधिको पछि लाग्न बाध्य भएका हुन् ।जसको कारण बचतकर्ताहरु आफ्नो पछि लागेको थाहा पाएका बजार प्रतिनिधिहरु पनि अहिले भागीभागी हिँड्नुपर्ने अवस्था देखिएको छ ।

कलंकीमा मसला मिल सञ्चालन गर्दै आएका धादिङ एक व्यवसायीले नियमित बचत गर्ने गरेको नजिकैको सहकारीमा समस्या आएको थाहा पाएपछि बचत रकम जम्मा गर्न कम गरेको सुनाए ।

उनले भने, ‘मैले सहकारीका बजार प्रतिनिधिले नै भनेर बचत गरेँ । तर, सहकारीमा समस्या आएपछि बजार प्रतिनिधि आउनै छाडे । मैले राखेको पैसा लिनुपर्‍यो भनेर सहकारीमै गएँ । सहकारीले अहिले सबै पैसा एकै पटक दिन सकिँदैन भन्यो ।’

अहिले आफ्नो पैसा संकलन गर्ने बजार प्रतिनिधि खोजिरहेको उनले सुनाए । ‘बजार प्रतिनिधिलाई भेट्न सकेको छैन’, उनले भने, ‘अब कुन दिनबाट सहकारी भाग्ने हो थाहा छैन ।’

कालिमाटीको एक सहकारीकी बजार प्रतिनिधि कमला कार्की (नाम परिवर्तन) ले आफूले काम गर्ने सहकारीमा समस्या आएपछि अहिले आफूलाई समेत समस्या भएको सुनाइन् ।

‘मेरा आफन्तहरुलाई पनि मैले काम गर्ने सहकारीमा बचत गर्न लगाएको थिएँ । अहिले अधिकांश जम्मा गरेको पैसा दिनुपयो भन्दै कोठासम्म आउनुभयो’, उनले भनिन्, ‘बाटोमा हिँड्न पनि गाह्रो भइसक्यो । जो भेटे नि ‘हाम्रो पैसा कहिले आउँछ’ भनेर सोधेरे हायलकायल गरिसके । कहीं निस्कन पनि समस्या हुने भयो । कोठा सरौं झन् समस्यामा पार्ला भन्ने पीर भइसक्यो ।’

धेरै बचतकर्ताहरुले बजार प्रतिनिधिकै भरमा सहकारीका पैसा राख्ने गरेकाले पनि अहिले धेरै समस्या आएको भुक्तभोगीहरु बताउँछन् ।

राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित अध्यक्ष केबी उप्रेतीले भने केही केही बैंकले पनि निक्षेप फिर्ता दिन नसकेको कुरा मिडियामा आएपछि त्यसको मारमा सहकारीहरु परेको बताए । उनले भने, ‘सहकारीहरुले पनि खासगरी डिपोजिट लिएर ८०-९० प्रतिशत लगानी गर्छन् । केही सहकारीले पैसा दिन सकेनन् भन्ने खबर मिडियामा आएपछि समस्या नै नपरेका सहकारीमा पनि पैसा झिक्न लाइन लाग्ने अवस्था आयो ।’

१०-२० प्रतिशत तरलता राखेको सहकारीमा सबै एकै पटक निक्षेप झिक्न जाँदा समस्या आएको अध्यक्ष उप्रेतीको भनाइ छ । ‘४-५ वर्षको लागि भएको लगानी त तुरुन्तै फिर्ता आउँदैन नि’, उनले थपे, ‘एकैपटक फिर्ता गर्न नसकेपनि विस्तारै रोटेसनमा सहकारीले बचत फिर्ता गरिरहेकै छन् ।’

सहकारी ऐन, २०७४ को दफा १०४ अनुसार सहकारी मन्त्रालयले ११ सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । यी सहकारीले ऋणीबाट अर्बौं रूपैयाँ कर्जा असुल गर्न बाँकी छ ।

समस्याग्रस्त सहकारीको सुची

१. स्ट्यान्डर्ड सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ

२. प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट कोअपरेटिभ

३. प्रभु बचत तथा ऋण सहकारी संस्था

४. कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ

५. कञ्जुमर बचत तथा ऋण सहकारी

६. कुबेर बचत तथा ऋण सहकारी संस्था

७. चार्टर्ड सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ

८. भेगास बचत तथा ऋण सहकारी संस्था

९. स्ट्यान्डर्ड मल्टिपर्पोज कोअपरेटिभ

१०. सोसाइटी बचत तथा ऋण सहकारी संस्था

११. लुनिभा बहुउद्देश्यीय सहकारी संस्था