आज एक अमेरिकी डलरको सटही दर २६४ पाकिस्तानी रुपैयाँ पुगेसँगै पाकिस्तानी मुद्रा इतिहासकै सबैभन्दा कमजोर मुद्रा भएको हो।
हिजोको तुलनामा आज पाकिस्तानी मुद्राको मूल्यमा ३.३६ प्रतिशतले गिरावट भएको हो। बढ्दो महँगी र वैदेशिक मुद्राको सञ्चितिमा कमी भएकाले अमेरिकी डलरको तुलनामा पाकिस्तानी मुद्रा कमजोर बनेको हो । विदेशी मुद्राको सञ्चिति कम भएपछि र डलर बलियो हुन थालेपछि एक्सचेन्ज कम्पनीज एसोसियशन अफ पाकिस्तानले डलरको भाउ स्थिर राख्ने प्रयास गरेको थियो । सरकारले पनि बजारमा देखिएको अराजकता नियन्त्रणका लागि भन्दै अन्तरबैंक दर स्थिर राखेको थियो ।
एक्सचेन्ज कम्पनीले कालोबजारी, अन्तरबैंक र खुलाबजारमा देखिएको भाउको अन्तर अन्त्य गर्ने आफूहरूको उद्देश्य भएको जनाएका थिए । पाकिस्तानी अर्थमन्त्री इसहाक डारले नियुक्ति लगत्तै डलरको मूल्य दुई सय रुपैयाँभन्दा नबढ्ने दाबी गरेका थिए । तर निरन्तर ओह्रालो लाग्दै पाकिस्तानी मुद्रा इतिहासकै कमजोर बनेको बीबीसी हिन्दीको खबरमा उल्लेख छ ।
