नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको शोधनान्तर अवस्था सकारात्मक भएकाले तरलतामा सुधार हुँदै गएको बताएका छन् ।
बिहीबार उदयपुरमा आयोजित एक कार्यक्रममा उनले विगत १४ महिनादेखि देखिएको शोधनान्तर घाटाको अवस्थामा गएको असोजदेखि सुधार आएको उल्लेख गरेका छन् । त्यसको सकारात्मक असर तरलतामा परेको उनले बताए । शोधनान्तर अवस्था र तरलतामा सुधार हुँदै गएकाले ब्याजदर घट्दै गएको र छिट्टै कर्जामा पनि यसको असर देखिने उनको भनाइ रहेको छ । दुई करोड रुपैयाँभन्दा कम ऋण लिने साना व्यवसायीलाई बेस रेटमा दुई प्रतिशतभन्दा बढी थप लिन नमिल्ने व्यवस्था राष्ट्र बैंकले गरेको उनले बताए ।
गभर्नर अधिकारीले वित्तीय समावेशीकरणको नीति अवलम्बन गरी सबै नेपालीलाई बैंकिङ कारोबारमा जोड्ने अभियान सुरु गरिएको जानकारी दिएका छन् ।
