एयरलाइन्सको टिकट बिक्रीमा भएको समस्या समाधान गर्न नयाँ समिति गठन

१२ माघ २०७९, बिहीबार १७:०३

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले टिकट बिक्री वितरणमा भएको समस्या समाधान गर्न नयाँ समिति गठन गरेको छ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) सँग छलफल गर्दै निगमले बुधबार १५ दिनभित्र समस्या समाधान गर्ने गरी समिति गठन गरेको हो।

समितिमा निगम र नाट्टाका दुबै पक्षका ४/४ गरि आठ सदस्यीय कार्यदलमा निगमको वाणिज्य निर्देशक जनकराज कालाखेती, अर्थ विभाग निर्देशक उमेश पौडेल, साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन निर्देशक अनिल घिमिरे र वाणिज्य विभागका उपनिर्देशक सन्तोष पाण्डे रहेका छन्।

त्यस्तै, नाट्टाकातर्फबाट वरिष्ठ उपाध्यक्ष प्रमोद दाहाल, महासचिव कुमार मणि थपलिया, कोषाध्यक्ष राजकुमार देवकोटा र कार्यसमिति सदस्य सवला भण्डारी रहेका छन्।

टिकट बिक्री वितरणमा हुने समस्यालाई सहजीकरण, ग्रुप फेयर, उडानसम्बन्धी प्रभावकारी जानकारी लगायत विषयमा छलफल भएको निगम प्रवक्ता अर्चना खड्काले बताइन्।