सरकारको नीतिकै कारण व्यवसायीहरु मर्कामा छन्: उद्योग वाणिज्य महासंघ प्रदेश नं.१

१२ माघ २०७९, बिहीबार १४:५९

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं.१ आज एक विज्ञप्तिमा जारी गर्दै व्यवसायीहरुलाई आफ्नो कारोबार निर्धक्क रुपमा गर्ने वातावरण बनाउन सरकारसँग माग गरिएको छ । ‘उद्योगी–व्यवसायीहरुले भोग्नुपरेका समस्याका वारेमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ ले नेपाल सरकार तथा सम्वन्धित निकायको ध्यानाकर्षण गराउंदै आए पनि यसमा ठोस कार्यान्वयन हुन सकेको छैन’, अध्यक्ष टिकाराज ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘देशमा प्रेमप्रसाद आचार्य, मोहन न्यौपानेजस्ता धेरै व्यवसायीहरु पीडामा छन् र भविष्यमा यस्ता घटना नदोहोरिएला भन्न सकिन्न।’

सरकारको नीतिकै कारण आज व्यवसायीहरुले अनेकौं समस्याहरु झेल्दै आएको विज्ञप्तिमा भनिएको छ। ‘अतः व्यवसायीहरुलाई आफ्नो कारोबार निर्धक्क रुपमा गर्ने वातावरण बनाउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन नेपाल सरकारलगायत सम्बन्धित निकायमा अनुरोध गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।

काठमाडौँमा आत्मदाह प्रयासपछि मृत्युवरण गरेका प्रेमप्रसाद आचार्य एवं विराटनगरका मोहन न्यौपानेको आत्माको चिरशान्तिको कामना गर्दै महासंघ प्रदेश नं.१ ले शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ।

यसका साथै सरकारको नीति, बैंक तथा वित्तीय संस्थाको कर्जा तथा बैंक ब्याजलगायत सम्बन्धमा आफ्नो क्षेत्रबाट समेत आवाज उठाउन प्रदेश नं.१ मा रहेका सम्पूर्ण जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई विज्ञप्तिमार्फत आग्रह गरिएको छ।