संघीयता विररुद्ध बोल्ने मन्त्रीहरुलाई प्रधानमन्त्रीले स्पष्टीकरण सोध्ने

१० माघ २०७९, मंगलवार १६:१४

मन्त्रिपरिषदका सदस्यले संघीयता विरोधी अभिव्यक्ति दिएमा स्पष्टीकरण सोध्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले मन्त्रिपरिषदका सदस्यले संघीयता र गणतन्त्र विरोधी अभिव्यक्ति दिन नपाउने बताएका हुन् ।

राष्ट्रियसभामा मन्त्रीहरुले नै संघीयताविरोधी अभिव्यक्ति दिएको भन्दै प्रश्न उठेपछि जवाफमा नैतिक र कानुनी रुपले नै मन्त्रीहरुले संघीयताविरोधी अभिव्यक्ति दिन नहुने बताएका हुन् ।

‘मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यो स्पष्टीकरणको विषय हुन्छ’ उनले भने, ‘मन्त्रिमण्डलभन्दा बाहिर गएर आफ्नो कुरा राख्ने अधिकार सबै राजनीतिक दल र माननीय सदस्यलाई हुन्छ तर मन्त्रिमण्डलभित्र बसेर संघीयताविरुद्ध लोकतान्त्रिक गणतन्त्रका विरुद्ध बोल्ने वा प्रचार गर्ने अधिकार नैतिक रुपले पनि कानुनी रुपले पनि हुन सक्दैन ।’

संघीयताका विषयमा सैद्धान्तिक विमति आम रुपमा नदेखिए पनि कार्यान्वयनमा भएको ढिलाइका कारण जनतामा आशंका पैदा भएको प्रधानमन्त्री प्रचण्डले बताए ।