माइक्रोसफ्टले ओपन एआईसँग दीर्घकालीन साझेदारीको तेस्रो चरणको घोषणा

१० माघ २०७९, मंगलवार १४:५१

सोमबार माइक्रोसफ्टले ओपन एआई (आर्टिफिसियल इन्टेलिजेन्स)सँग साझेदारीको घोषणा गरेको छ । आर्टिफिसियल इन्टेलिजेन्स ल्याबमा माइक्रोसफ्टले ‘बहुवर्षीय अर्बौं डलर’ लगानी गर्ने कुरा  उल्लेख गरिएको छ जुन सान फ्रान्सिस्कोमा अवस्थित रहेको छ  ।

पछिल्लो दिनमा च्याटजीपीटी नामक च्याटबट सार्वजनिक गरेर चर्चामा रहेको छ ।  ओपन एआईसँग कति रकमको सम्झौता भएको हो भन्ने घोषणामा उल्लेख गरिएको भने छैन तर पनि माइक्रोसफ्टसँग नजिकको स्रोतलाई उदृत गर्दै न्युयोर्क टाइम्सले उल्लेख गरे अनुसार यसको साझेदारीको रकम १० अर्ब डलरभन्दा माथि छ ।

माइक्रोसफ्टले ओपन एआईमा यसअघि नै ३ अर्ब डलर लगानी गरिसकेको छ । यो पछिल्लो महत्त्वपूर्ण साझेदारीमार्फत कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा आफू गुगल, एप्पल र मेटाको सशक्त प्रतिस्पर्धी भएको संकेत दिएको मात्र नभई कम्पनीको भविष्यको लागि ओपन एआईको महत्त्वको संकेत पनि गरेको प्रविधि विषयका लेखक केड मेट्जको आँकलन छ । गत नोभेम्बरमा सार्वजनिक भएलगत्तै अत्यन्तै चर्चित बनेको च्याटजीपीटीको एक साताभित्रै दस लाखभन्दा बढी प्रयोगकर्ता बनेका थिए ।