दयाहाङ र मिरुनाको नयाँ फिल्म ‘जारी’ वैशाख १ मा प्रदर्शन हुदै

९ माघ २०७९, सोमबार १३:०६

आगामी वैशाख १ गतेलाई नेपाली चलचित्र ‘जारी’ले प्रदर्शन मिति घोषणा गर्दै आधिकारिक पोस्टर सार्वजनिक गरेको छ ।

उक्त चलचित्रमा मुख्य भूमिकाको रुपमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरले अभिनय गरेका छन्। पोस्टरले प्रमुख पात्रको मनोदशालाई चित्रण गर्छ ।

‘कबड्डी’ सिरिज निर्माण कम्पनी बाँसुरी फिल्म्सकै ब्यानरमा निर्माण भएको ‘जारी’लाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशकीय फिल्म समेत हो । ‘कबड्डी’ फेम्ड रामबाबु गुरुङले निर्माण गरेको यो फिल्मले अर्कैसँग भागेकी पत्नीलाई फिर्ता ल्याउन मुख्य पुरुष चरित्रले गर्ने संघर्षको कथा पेस गर्छ ।

उक्त फिल्ममा पूर्वी पहाडको लिम्बू समुदायमा रहेको ‘जारी’ प्रथालाई प्रस्तुत गरिएको छ । दयाहाङ र मिरुनासहित विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, प्रेम सुब्बा, पुष्कर गुरुङ र कमलमणि नेपालको यस फिल्ममा अभिनय रहेको छ । यस्तै फिल्ममा सुरेश लिम्बूको कथा, झुमा लिम्बू र गंगा थापाको संगीत, शैलेन्द्र कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन गरेका छन् ।