अपहरण गरेर धनुषाको जनकपुरधामका दुई युवाको भारतमा हत्या भएको छ ।
उनहरु गत पुस २७ गते देखि बेपत्ता भएका थिए । उनीहरु दुवै जना दुईसाता अघि भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफन्तको घर गएका थिए । उनीहरु जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१३ बस्ने रामबाबु साहका २२ वर्षीय छोरा विष्णु साह र वडा नम्बर–८ बस्ने जगदीश साहका २५ वर्षीय छोरा रोहित शाह रहेका छन्।
भारत बिहार राज्यको पर्सा गाउँको पश्चिमतर्फको फिल्डमा आइतबार बिहान उनीहरु दुवै जनाको शव फेला परेको छ । अपहरणकारीले गत सोमबारसम्म ५० लाख रुपैयाँ फिरौती उनीहरु दुवै जनाको परिवारलाई माग गरेको थियो । अपहरणकारीले विष्णुको आवाज रेकर्ड गरेर उनका आफन्तलाई फोनबाट सुनाएका थिए ।
उनका परिवारहरुले अपहरणकारीलाई २० लाख दिन राजी भएका पनि थिए । अपहरणकारीले २० लाख रुपैयाँ लिएर सर्लाहीको मलंगवा नाका नजिक बोलाएपछि परिवारजनले प्रहरीलाई जानकारी गराएका थिए ।
भारतीय प्रहरी र नेपाल प्रहरी दुवै युवकलाई अपहरण मुक्त गराउन भूमिका खेलेको धनुषाका प्रहरी उपरीक्षक एसपी विश्वराज खड्काले बताए । तर, गत मंगलबारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोड्यो । आइतबार बिहान दुईवटा शव फेला पारेपछि बिहान मृतक युवकहरुको आफन्तहरुलाई भारतीय प्रहरीले बोलाएको थियो । उनीहरुको शव भारतको बेला परिहारस्थित प्रहरी कार्यालयमा राखिएको छ ।
‘अपहरणको जानकारी पश्चात भारतीय प्रहरीसँग समन्वय गरेर खोजतलासमा सक्रियपूर्वक लागेका थियौं । अपहरणकारीले पठाएको रेकर्ड परिवारजनले मात्र सुनेर हामीलाई समयमा जानकारी दिएनन् । त्यसकारण दुर्भाग्यवश हामीले बचाउन सकेनौं’, एसपी खड्काले भने ।
धनुषाका एसपी खड्काले दिएको जानकारी अनुसार प्रहरीले पाँचजनालाई घटनापश्चात पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले २ जना र भारतीय प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। उनीहरुको नाम अहिले गोप्य राखिएको छ । चारजना फरार रहेकाले खोजबिन भइरहेको प्रहरीले जनाएको छ ।
