अभिनेत्री ऋचा शर्माले छोटो फिल्म ‘ब्लड मनी’बाट अष्ट्रेलियाको एक फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छन् । उक्त अवार्ड सिड्नीमा सम्पन्न टाइटन फिल्म फेस्टिभलबाट अभिनेत्री शर्माले प्राप्त गरेकी हुन् । उनी आगामी बुधबार ट्रफी लिएर नेपाल आउने तयारीमा छिन्।
फिल्मका लेखक तथा निर्देशक अशोक तिमल्सिनालाई पनि उक्त फेस्टिभलमा सम्मान गरिएको थियो । अन्य मुलुकका फिल्मले समेत प्रतिस्पर्धा गरेको फेस्टिभलमा यो नेपाली छोटो फिल्मलाई उत्कृष्ट प्रतिक्रिया मिलेको र विदेशी निर्माता नेपालमा फिल्म छायांकन गर्न इच्छुक रहेको निर्माताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यो फिल्मले यसअघि पनि सिंगापुरको ओल्ड फिल्म कार्निभल फेस्टिभल लगायतका महोत्सवमा अवार्ड पाएको थियो । डेढ दशकदेखि अष्ट्रेलियामा रहँदै आएका निर्देशक तिमल्सिनाले फिल्ममार्फत पारिवारिक अवस्थाले विदेशिएका युवाले हातमुख जोर्न गरेको संघर्षको कथा भन्छ ।
२८ मिनेटको यो फिल्ममा छोराको भूमिकामा तिमल्सिना स्वयंले अभिनय गरेका छन् भने आमाको भूमिकामा मिथिला र पत्नीको भूमिकामा ऋचाले अभिनय गरेकी छन् । युट्युबबाट पनि रिलिज भइसकेको यो फिल्मलाई दर्शकबाट राम्रो प्रतिक्रिया मिलेको जनाइएको छ ।
https://youtu.be/JE6Cp9P5rIY
