मर्जर सम्झौता गरेका सनराइज बैंक र लक्ष्मी बैंकले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरणानुसार लक्ष्मी बैंकको नाफा वृद्धि भएको छ भने सनराइज बैंकको नाफा घटेको छ ।
पुस मसान्तसम्म सनराइन बैंकले ६५ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको पुस मसान्तसम्म बैंकले ७४ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यो नाफा गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा १२.२८ प्रतिशतले कम हो ।
विवरणानुसार दुवै बैंकको खराब कर्जा बढेको छ । गत वर्षको पुस मसान्तसम्म १.४१ प्रतिशत रहेको सनराइज बैंकको खराब कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्म ३.३६ प्रतिशत कायम भएको छ ।
यो बैंकले ६ महिनाको अवधिमा दुई अर्ब ९१ करोड ५७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । यो बैंकले गत वर्षको ६ महिनाको अवधिमा एक अर्ब ८३ करोड तीन लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । बैंकको इम्पेरमेन्ट चार्ज बढेकाले त्यसको प्रत्यक्ष प्रभाव देखिएको छ । गत वर्षको पुस मसान्तसम्म यस्तो इम्पेरमेन्ट चार्ज ३९ करोड ४९ लाख रुपैयाँ भएकोमा यस वर्षको सोही अवधिमा एक अर्ब ६ करोड १८ लाख रुपैयाँ रहेको छ ।
यस्तै, लक्ष्मी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म एक अर्ब सात करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा यो बैंकले ८१ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यो बैंकले ब्याज आम्दानीबाट दुई अर्ब ७६ करोड ४८ लाख रुपैयाँ आर्जन गरेको छ । यो बैंकले गत वर्षको सोही अवधिमा सोही शीर्षकमा एक अर्ब ६० करोड ७४ लाख रुपैयाँ आर्जन गरेको थियो ।
यो बैंकको खराब कर्जा बढेको छ । गत वर्षको दोस्रो त्रैमाससम्म ०.८३ प्रतिशत रहेको खराब कर्जा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर १.५६ प्रतिशत कायम भएको छ ।
