चर्को आलोचनापछि ब्याजदर घटाउँदै एनआइसी एशिया बैंक

६ माघ २०७९, शुक्रबार १३:०७

एनआइसी एशिया बैंक लिमिटेडले चर्को आलोचनापछि ब्याजदर परिमार्जन गरेको छ । बैंकले माघ महिनाको लागि ब्याजदर सार्वजनिक गर्दा चर्को आलोचना आएपछि ब्याजदर परिर्वतन गरेको  जनाएको हो ।

बैंकले व्यक्तिगत मुद्दतीअन्तर्गतको खाताहरुको ब्याजदर घटाउदै सर्वश्रेष्ठ मुद्दती खाताको ब्याजदर ११ प्रतिशत कायम गरेको हो । यसअघि बैंकले सार्वजनिक गरेको व्याजदरअनुसार बैंकले उक्त खातामा ११.४२ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । साथै सर्वश्रेष्ठ रेमिट्यान्स मुद्दती निक्षेपको ब्याजदर पनि १२.४२ प्रतिशतबाट परिमार्जन गर्दै १२ प्रतिशत कायम गरेको हो ।

तीन महिनादेखि ५ वर्षसम्म अवधिको लागि व्यक्तिगततर्फ ११ प्रतिशत र संस्थागततर्फ ९ प्रतिशत ब्याजदर कायम गरेको छ । यसअघि बैंकले यसै खाता अन्तर्गत व्यक्तिगतमा ११.४२ र संस्थागततर्फ ९.४२ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । यससँगै  नेपाल बैंकर्स संघले माघ महिनाका लागि सबै खालका खाताहरुमा १.१३ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेसँगै सबै बैंकहरुले ब्याजदर घटाएर सार्वजनिक गरेका भएपनि एनआइसी एशिया बैंकले भने मुद्दती निक्षेप अन्तर्गतको ब्याजदर तोकिएको प्रतिशत कायम नगर्दा चौतर्फी आलोचना भएको थियो ।