२४ उद्योगले पाए गहुँ भारतबाटआयात गर्न अनुमति

५ माघ २०७९, बिहीबार १९:४३

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतले आयात अनुमति दिएको गहुँको कोटा वितरण सुरु गरेको छ । पहिलो चरणमा २४ वटा मैदा उद्योगलाई ३० हजार मेट्रिकटन गहुँ आयातका लागि सिफारिस गरिएको मन्त्रालयले जनाएको छ भने भारतले आयात ५० हजार मेट्रिकटन  अनुमति दिएको थियो । मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले जानकारी दिए अनुसार भारतबाट गहुँ आयातका लागि २४ वटा मैदा उद्योगलाई अनुमतिका लागि कोटासहित परराष्ट्र मन्त्रालयमा पत्राचार गरिएको छ।

मैदा उद्योगहरुले आर्थिक वर्ष २०७७/७८ मा उत्पादन गरेको मैदाको परिमाणको आधारमा उद्योगहरुलाई दामासाही ७ प्रतिशतका दरले गहुँ आयातको कोटा विवरण गरिएको केसीले बताइन् । ‘पहिलो चरणमा हामीले २४ वटा मैदा उद्योगलाई ३० हजार मेट्रिकटन गहुँ आयात अनुमति दिन परराष्ट्र मन्त्रालयमा सिफारिस गरेको छौं,’ सहप्रवक्ता केसीले भनिन्, ‘मैदा उद्योगहरुको गरेको सिफारिसको आधारमा उत्पादन हेरेर कोटा सिफारिस गरिएको हो ।’

मैदा उत्पादनको आधारमा गरिएको कोटा वितरणमा कम्तिमा ८२ देखि अधिकतम २ हजार ३७५ मेट्रिकटनसम्म गहुँ आयातको कोटा सिफारिस भएको मन्त्रालयले जानकारी दिएको छ ।