चर्चित मेयर बालेन्द्र साह (बालेन)को नेतृत्वमा रहेको काठमाडौं महानगरपालिकाले लक्ष्यको आधा पनि राजस्व संकलन गर्न नसकेको देखिएको छ । महानगरले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पुष मसान्तसम्ममा लक्ष्यको ४३ प्रतिशत मात्रै राजस्व संकलन भएको हो । यो आर्थिक वर्षमा महानगरले १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको भएपनि महानगरपालिकाले चालू आर्थिक वर्षको साउनेदेखि पुष मसान्तसम्ममा चार अर्ब ५६ करोड ६२ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। जुन वार्षिक लक्ष्यको ४३.८२ प्रतिशत मात्रै हो ।
चालू आर्थिक वर्षको ६ महिना पुरा भैसक्दा राजस्व संकलनको हिसावले यो ६ महिना निकै महत्वपूर्ण मानिन्छ । सामान्य हिसाबले पनि यो ६ महिना भित्र लक्ष्यको ५० प्रतिशत राजस्व संकलन भइसक्नु पर्ने हो । तर, त्यसो भएको देखिदैन । त्यसो त घरबहाल कर लगायतका कतिपय करहरु आर्थिक वर्षको अन्त्यतिर संकलन हुने गरेको देखिन्छ । सो आधारमा हेर्दा कतिपय क्षेत्रमा अपेक्षा भन्दा बढी कर उठ्न सक्छ भने धेरै शिर्षकहरुमा पहिलो ६ महिनामा नै कर उठिसक्नु पर्ने हो । तर, त्यसो भएको देखिदैन ।
काठमाडौं महानगरपालिकाको राजस्व विभागका विभागिय प्रमुख डा. शिवराज अधिकारीका अनुसार यस अवधिमा महानगरले सबैभन्दा बढी मनोरञ्जन कर उठाएको छ । मनोरञ्जन कर बापत महानगरले ९० लाख ८२ हजार ५०१ रुपैयाँ राजस्व संकलन गरेको छ । जुन वार्षिक लक्ष्यको १८१.६५ प्रतिशतले बढी हो । ६ महिनामा नै यस शिर्षकमा वार्षिक लक्ष्य भन्दा धेरै नै बढी राजस्व संकलन भइसकेको छ । जसका आधारमा के अनुमान गर्न सकिन्छ भने महानगरले राजस्व संकलनको अनुमानित लक्ष्य नै तथ्यपरक ढंगले गर्न सकेको थिएन । यस आवमा महानगरले मनोरञ्जन शिर्षकमा ५० लाख रुपैयाँ मात्रै राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।
त्यस्तै, महानगरले पुष मसान्तसम्म पार्किङ शुल्क वापत ७५ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ भने नाता प्रमाणित दस्तुर वापत २२ लाख १७ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यसका साथै भूमिगत मालपोत वापत महानगरले ८३ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ भने सम्पत्ति, बहाल तथा पट्टा वापतको आयमा लाग्ने करवापत सात कराड १८ लाख २२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
महानगरका अनुसार व्यवसाय रजिष्ट्रेशन दस्तु वापत ३१ करोड ४२ लाख, नक्सापास दस्तुरबापत ४१ करोड ४७ लाख, प्रशासनिक सेवा शुल्क वापत ६ लाख ४८ हजार, अन्य सेवा शुल्क वापत ९ करोड ७८ लाख ७९ हजार, सम्पत्ति करबाट ६ करोड ५२ लाख १० हजार र घरवहाल कर वापत एक अर्ब १८ करोड १५ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
