सगरमाथा जलविद्युतको आईपीओ खुल्ला, कुन कुन क्षेत्रका बासिन्दा प्राथमिकतामा ?

५ माघ २०७९, बिहीबार १४:४४

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले बिहीबारदेखि आयोजनाबाट पीडित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिकतामा राखि  सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गरेको छ  ।

कम्पनीले आफ्नो जारी पूँजी साधारण सेयर आयोजनाबाट पीडित क्षेत्र इलामवासीका लागि एक अर्ब १२ करोड रूपैयाँको १० प्रतिशत अर्थात् ११ करोड २० लाख रुपैयाँ बराबरको प्रतिसेयर एक सय रुपैयाँ दरका ११ लाख २० हजार कित्ता निष्कासन गरेको हो । त्यस्तै सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको ४३ लाख ६८ हजार कित्ताको १० प्रतिशतले हुने चार लाख ३६ हजार आठ सय कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि पनि निष्कासन गर्न लागेको कम्पनीको सार्वजनिक आह्वानपत्रमा उल्लेखित छ ।

स्थानीय लगानीकर्ताले सेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने उल्लेख गरियको छ । सम्बद्ध क्षेत्रका बासिन्दाका लागि निष्कासन बन्द छिटोमा १९ मासम्म हुनेछ भने ढिलोमा आगामी ५ फागुनसम्म हुने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने अधिकतम ५० हजार कित्ताका लागि १९ माघ भित्र आवेदन दिनुपर्नेछ कुरा कम्पनीले जानकारी दिएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । स्थानीय बासिन्दाले भने आयोजनास्थलमा रहेको कम्पनीको कार्यालय, प्रभु बैंक, सेञ्चुरी बैंक, र प्राइम कमर्सियल बैंकले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर बीबीबी माइनस रेटिङ प्रदान गरेको छ । कम्पनीले इलामको इलाम नगरपालिका–२ स्थित माई खोलामा नौ दशमलव छ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।