नेकपा (एमाले) का सचिव एवं सांसद योगेश भट्टराईले संसद्मा दिइएका अभिव्यक्तिले विश्वासको मत एकातिर आँखा अर्कैतिर भएको संकेत गरेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसतर्फ लक्षित गर्दै भट्टराईले संसद्मा दिइएका अभिव्यक्तिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको विश्वासको मत एकातिर नजर अर्कैतिर भएको हुन सक्ने बताए ।
“प्रधानमन्त्रीलाई विश्वासको मत दिँँदै गर्दा संसद्मा गरिएको राजनीतिक टिप्पणीले विश्वासको मत एकातिर आँखा अर्कैतिर त होइन भन्ने प्रश्न उठाएको छ,” भट्टराईले भने, “खैर, त्यस्तो हो भने पनि केही छैन । १० गते १२ बजेसम्म हामीले प्रधानमन्त्री, राष्ट्रपति केही पनि खोजेका थिएनौँ । त्यो बनजाउने ठाउँमा अरू नै हुनुहुन्थ्यो ।”
उनल कांग्रेसले सम्हाल्न नसकेका कारण मात्र एमालेलाई अवसर आएको बताए । कांग्रेसको नजर अर्कौतिर होइन भने सभामुख पदमा देवराज घिमिरेका पक्षमा पनि भोट हाल्नुपर्ने उनको भनाइ छ ।
“यदि, मुटुले नै माया गरेर विश्वासको मत दिएको हो भने त्यो मत देवराज घिमिरेलाई पनि आउनुपर्छ,” भट्टराईले भने ।
