आजको प्रदेशसभा बैठक सत्तारुढ गठबन्धन आब्द्ध दल नागरिक उन्मुक्ति पार्टीले अवरुद्ध गर्ने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज विश्वासको मत लिदै छन् ।
बन्दी रिहाइ, लाल आयोग प्रतिवेदन सार्वजनिक लगायतका माग राख्दै सदन अवरुद्ध गर्ने सत्तारूढ गठबन्धन आब्द्ध दल नागरिक उन्मुक्ति पार्टीले घोषणा गरेको छ। सदन अवरुद्ध गर्ने निर्णय भएको नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धर्म चौधरीले बताए ।
‘हामीले माग पूरा गर्न सदन रोक्ने निर्णय गरेका छौं, केही समयमा जानकारी दिन जाँदैछौं, सत्तारुढ भएपनि हामीलाई माग पूरा गर्न यो दबाबमूलक कार्यक्रम गर्न बाध्य पारियो, यसले मुख्यमन्त्रीको विश्वासको मत लिने कार्यक्रम प्रभावित हुनेछ,’ उनले भने ।
प्रदेशसभा सचिव दुर्लभकुमार पुनले सचिवालयमा कुनै जानकारी नआएको बताए । उनले सदन नै अवरूद्व भएमा विश्वासको मत लिने कार्यक्रम प्रभावित हुने भएपनि सभामुख र दलहरू बीचका सहमतिमा अगाडि बढ्ने बताए ।
सरकारका प्रवक्ता चेतनारायण आचार्यले नागरिक उन्मुक्तिसँग छलफल गरेर जान सरकार तयार रहेको तर सदन अवरुद्धको विषयमा जानकारी नपाएको बताए ।
सरकारको नेतृत्व गरेको ८ दिनपछि मुख्यमन्त्री गिरीले दिउँसो १ बजेबाट सदनमा विश्वासको मत लिने कार्यक्रम छ । सत्तागठबन्धनमा रहेका ७ दलहरूको स्पष्ट बहुमत छ । विपक्षी नेपाली कांग्रेसले विश्वासको मत दिने वा नदिने निर्णय लिइसकेको छैन । कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ ।
लुम्बिनीमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा, लोसपा र जनमतका ३–३ र २ स्वतन्त्र सांसद गरी ५८ जनाको समर्थनमा गिरी मुख्यमन्त्री बनेका हुन् ।
८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ । कांग्रेसका २७ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १(१ सांसद छन् । विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तारको तयारी छ ।
अहिले दुईजना विनाविभागीय छन् । प्रवक्ता आचार्यका अनुसार विश्वासको मतपश्चात् उनीहरूको जिम्मेवारी तोक्ने र नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरिएपनि दलहरूबीच भागबण्डा मिलाउँदा अझै केही समय लाग्ने भएको छ ।
