फ्रान्स पठाइदिन्छु भन्दै प्रलोभनमा पारी १९ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। काठमाडौं चन्द्रागिरी नगरपालिका-५ सतुङ्गल बस्ने तनहुँ शुक्लागण्डकी नगरपलिका-८ घर भएका ४६ वर्षीय तेजेन्द्र महतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनले वैदेशिक रोजगारीमा फ्रान्स जान प्रतिव्यक्ति १० लाख रुपैयाँ लाग्ने र फ्रान्स पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा फ्रुटकिपिङको काम पाइने आश्वासन दिई ठगी गरेको जानकारीमा आएको छ ।
वैदेशिक रोजगार विभागको पत्राचारको आधारमा उनले ३ जना पीडितहरुबाट जम्मा १९ लाख रुपैयाँ ठगी गरेको कसुरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले सतुङ्गलबाट उनलाई नियन्त्रणमा लिएको छ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।
