एमालेबाट यी तीनजना मध्ये को बन्लान् त सभामुख ?

३ माघ २०७९, मंगलवार १४:२३

नयाँ सभामुखका लागि संघीय संसद् सचिवालयले बिहीबार निर्वाचन गर्ने भएको छ । जसकालागि बुधबार उम्मेदवारी मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ । सत्तागठबन्धनमा सभामुख एमालेले पाउने सहमति भइसकेको छ ।

एमालेबाट सभामुखका लागि अहिलेसम्म तीन जना मुख्य दाबेदार देखिएका छन् । जसमा झापाका देवराज घिमिरे, रुपन्देहीका छविलाल विश्वकर्मा र लमजुङका पृथ्वी सुब्बा गुरुङ रहेका छन् । गुरुङ पार्टी उपमहासचिवसमेत हुन् । विश्वकर्मा सचिव हुन् । तर,स्रोतले बताए अनुसर एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधि सभाको सभामुखमा घिमिरेलाई उम्मेदवार बनाउने भएको हो । झापा २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका घिमिरेलाई ओलीको विश्वासपात्र पनि मानिन्छन्।

उनी २०५६ सालमै राष्ट्रियसभा सदस्य बनेका थिए। एमाले प्रदेश–१ इञ्चार्जसमेत रहेका घिमिरे पहिलोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। एमालेमा सुरुदेखि नै गुरुङलाई सभामुख बनाउन दबाब पर्दै गए पनि पछिल्लो समय उनी दौडमा पछि परेका छन् ।

नेपाली कांग्रेसले पनि सभामुखमा उम्मेदवारी दिने बताए पनि कसलाई उठाउने भन्ने निर्णय गरेको छैन । सत्ता गठबन्धनमा निर्वाचित गर्नसक्ने मत भएकाले पनि कांग्रेसले आफ्नो उम्मेदवारको नाम बुधबार मात्र तय गर्ने बताइएको छ ।