कांग्रेस नेताहरू १० लाख खर्च गरेर अतिथि बने

२ माघ २०७९, सोमबार १५:५८

कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महत, बागमती प्रदेशसभा सदस्य बहादुरसिंह लामालगायतका नेताहरू अतिथि बनेर माघे संक्रान्तिका दिन नुवाकोटको तारकेश्वर गाउँपालिका तारुकाको कडहरबोटेपाटोमा गोरु जुधाइ मेला हेर्न पुगेका थिए ।

गाडीबाटै दुई घण्टामा पुगिने ठाउँमा १० लाख रुपैयाँ खर्च गरेर हेलिकोप्टरमार्फत गोरु जुधाएको हेर्न नेताहरू तारुका पुगेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कांग्रेस प्रवक्ता महतले भने, ‘कांग्रेस छिट्टै सत्तामा फर्किन्छ ।’

पालिका प्रमुख शिव अधिकारीले भने हेलिकोप्टर चार्टर्ड आफ्नै खर्च गरेको बताए । ‘१० वर्षदेखि हेर्नुहुन्छ भने पालिका क्षेत्रभर वर्षमा ५–६ वटा चार्टर्ड फ्लाइट गर्ने गरेको छु । म पर्यटन व्यवसायी पनि हुँ,’ उनले भने, ‘के कति खर्च भयो, कुरा नगरौँ, मेरो सम्बन्ध छ, रकम धेरथोर हुन्छ ।’

पालिका प्रमुख अधिकारीले युरोप, अमेरिकालगायतका देशहरूबाट समेत पर्यटक चार्टर्ड उडानमा ल्याउने गरिएको उनले बताए । स्थानीय पर्व र अन्य पर्वमा समेत चार्टर्ड उडान गर्ने गरिएको उनले जानकारी दिए ।