शोकमा डुब्यो पर्वत

२ माघ २०७९, सोमबार ०९:२७

आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परी पर्वतका १० जनाको ज्यान गएको पुष्टि भएको छ । मृतक सबैको सनाखतसमेत भइसकेको छ । दुर्घटनामा परी कुश्मा नगरपालिका–१४ आर्थर डाँढाखर्कका नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, कुश्मा –९ का अरुण पौडेल र उनकै छोरी ११ वर्षीया प्रसिद्धी पौडेल, कुश्मा–१ पाङकी रचना काफ्ले र उनका १० महिने छोरा रिहान पौडेलको ज्यान गएको हो ।

त्यसैगरी मोदी गाउँपालिका–१ भुकताङ्लेका विजय गुरुङ, विहादी –५ उराम पोखराका एकै परिवारका जमुना शर्मा, युवराज शर्मा, आयुर्दी शर्मा र वेबी शर्मा रहेका छन् । शर्मा परिवारमा आमा, छोरा, नाती र नातिनी एउटै विमान दुर्घनामा परेर अकल्पनीय निधन भएको हो । उनीहरु यही माघ ४ गते आफन्तको घरमा रहेको पूजामा निम्ता मान्न आएका थिए ।

दुर्घटनामा ज्यान गुमाउने कुश्मा –९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेल र उनकी छोरी वर्ष ११ कि प्रसिद्धी पौडेल विद्यालय बिदा भएपछि आफन्तलाई भेटघाट गर्नका लागि आउँदै गरेको बुझिएको छ ।

काठमाडौँको बृहस्पति विद्याश्रममा कक्षा ५ मा पढ्ने प्रसिद्धी जन्मघर पर्वत आउने क्रममा उनीहरू दुर्घटनामा परेका हुन् । “छोरीको स्कुल बिदा पनि भएकाले दाजुभाइ भेटौँ भनेर जन्मघर आउन लाग्नुभएको रहेछ”, अरुणका छिमेकी उपेन्द्र अधिकारीले भने, “उहाँहरूलाई लिन भाइ -अरुणका भाइ केशव_ विमानस्थलमै पुग्नुभएको थियो ।”

केशवले नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएर अरुण र प्रसिद्धीको शवको पहिचान गर्नुभएको थियो । पौडेल गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा पर्वतबाट स्वतन्त्र उम्मेदवार बनेका थिए । दुर्घटनामा परी ज्यान गुमाएका पर्वतका सबैको पहिचान भएकाले आज आफन्तलाई शव बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।