दुर्घटनास्थलमा पुगेका प्रत्यक्षदर्शीको भनाइ यस्तो छ

१ माघ २०७९, आईतवार १७:०२

काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको ९ एनएएनसी एटीआर विमान आइतबार पोखरा विमानस्थलनजिक दुर्घटना भएको छ । यती एयरलाइन्सका अनुसार चालक दलका चारसहित ७२ जना सवार विमान दुर्घटनामा परेको हो ।

काठमाडौंबाट १० बजेर ३३ मिनेटमा उडेको विमान पोखरा महानगरपालिका–७ र १५ को बीचमा रहेको खोँचमा खसेको थियो । दुर्घटना भएको पाँच मिनेटपछि आगो लागेको प्रत्यक्षदर्शीको भनाइ छ ।

दुर्घटनास्थलमा पुगेका प्रत्यक्षदर्शी विष्णुप्रसाद तिवारीले घटनाबारे यसो भनेका छन्–
आपत्कालीन अवस्थामा समय कसैले हेर्दैन । रंगशालाको गेटभन्दा पछाडि आइसकेपछि प्लेनको फ्यान नघुमेको जस्तो हामीलाई लाग्यो । हामीले फ्यान नघुमेको देखेपछि, प्लेन छड्के पर्दै खोला खोज्दै आएको हामीले देख्यौँ । आपत्कालीन अवस्थामा छ भन्ने देखेपछि हामी भाग्दै आयौँ । बाइक नजिकै थियो, तर चढेर आउने सोच पनि आएन । दौडिएर आयौँ । नजिकै मानिसहरूको घरमाथि पर्छ भनेर हामी दौडिएर आयौँ । हामी मन्दिरमास्तिर आइनपुग्दै प्लेन क्र्यास भएको दखियो । फ्यान कुच्चिएको देखियो । अनि, एकैपटक धुवाँको मुस्लो आएको देखेपछि हामी उद्धारमा जुटेको हो । कहाँ के भयो भन्ने अवस्था आएन । मैले पुलिसचौकीमा ढकाल सरलाई फोन गरे । तर, फोन उठेन । उहाँले ‘कल यु ब्याक’ भनेर म्यासेज पठाउनुभयो । तलतिर बस्ने भाइहरू माछा मार्न जानुभएको रहेछ । उहाँहरू तलबाट चिच्याउनुभयो । हामी त जहाजकै प्यासेन्जर हुनुहुँदो रहेछ भनेर नआत्तिनुहोस्, हामी उद्धार गर्न आउँदै छौँ भनेर भन्यौँ । आगोबाट बच्नुहोस्, हामी आउँदै छौँ भन्दै गर्दा घास समात्दै उहाँहरू माथि आउनुभयो । उहाँहरूको अनुहारमा रगतैरगत देखियो ।

प्रत्यक्षदर्शी डम्बर क्षेत्री भन्छन्–
मेरो घर यहीँ हो । म भात खाँदै थिए । दुर्घटना भएको थाहा पाउनेबित्तिकै म यहाँ आइपुगेँ । जुठै हातमा आएको मैले सबै छटपटाएको देखेँ । हामी तीन–चारजना सुरुमा आएका थियौँ । धेरै केही गर्न सकिएन । दुई–चार बाल्टी पानी ल्याएर मैले जहाजमा हालेँ ।