निर्मला पन्तको घटनाको अनुसन्धान तत्काल टुंगोमा पुग्ने सम्भावना कम

२९ पुष २०७९, शुक्रबार १२:२३

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानमा प्राथमिकता दिने पहिलो निर्णय गृहमन्त्री रवि लामिछानेले गरेका छन्।

गृहमन्त्री लामिछानेले निर्णय गरेको त्यसको केही दिनमै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीकी डीआईजी दुर्गा सिंहको नेतृत्वमा चिकित्सकसहितको टोली गठन भयो। अहिले पनि टोली कञ्चनपुरमै छ।

तर अनुसन्धानको नेतृत्व गरिरहेकी डीआईजी सिंहको भने सरुवा गरिएको छ। बिहीबार प्रहरी प्रधान कार्यालयले निकालेको सूचनाअनुसार १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा भएको छ।

१७ डीआईजीको काज सरुवा, सबै प्रदेश प्रमुख फेरिएसँगै बढुवा तथा पदस्थापन भएका तीन डीआईजीको भने सरुवा गरिएको छैन। मीरा चौधरी ट्राफिकमा कायम रहँदा टेकबहादुर तामाङ र उमेशराज जोशीको पनि सरुवा भएको छैन।

निर्मला पन्तको घटना अनुसन्धान गरिरहेकी डीआईजी सिंहलाई सीआईबीबाट नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनमा खटाउने निर्णय भएको छ। सीआईबीमा मोहनकुमार आचार्य सरुवा भएका छन्। आचार्य यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत थिए।

निर्मला पन्तको हत्या अनुसन्धानका लागि पुस २० गते सिंह नेतृत्वको टोली कञ्चनपुर पुगेको थियो। यसअघि ७७ जना अनुसन्धान अधिकृत खटाइसक्दा पनि अनुसन्धान टुंगोमा पुगेको छैन।

निर्मला हत्या अनुसन्धानमा ७७ अधिकृत फेल भए, फेरि डाक्टरसहित पुग्यो डीआईजीको टोली
टुंगो लगाउन भन्दै सिंहलाई खटाइएको थियो। तर जिम्मेवारी दिएको एकसातामै सिंहको सरुवा गरिएको हो। यसले निर्मला पन्तको घटनाको अनुसन्धान तत्काल टुंगोमा पुग्ने सम्भावना कम भएको छ।

सरुवा भएसँगै डीआईजी सिंह काठमाडौं फर्किने तयारीमा छन्। २०७५ साउन १० गते साथीको घरमा पढ्न भन्दै गएकी भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला भोलिपल्ट उखुबारीमा मृत फेला परेकी थिइन्। बलात्कारपछि उनको हत्या गरिएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ।