राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सेयर सदस्यलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित भएको छ । बैंकले आव ०७८र७९ को मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको ७.५ प्रतिशत नगद लाभांश तथा ५ प्रतिशन बोनस सेयर गरी १२.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव बैंकको १७औँ वार्षिक साधारणसभाले पारित गरेको हो ।
साधारणसभाले आव ०७८र७९ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरू पारित गरेको जनाइएको छ । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी १५ अर्ब ६३ करोड रुपैयाँ पुग्ने उल्लेख छ । बैंकका अध्यक्ष डा. बलराम पाठकले प्रस्तुत गरेको प्रतिवेदनमाथि सेयरधनी डमरुवल्ल्भ घिमिरे, दामोदरप्रसाद रेग्मी र रामगोपाल श्रेष्ठले टिप्पणी गर्नुका साथै बैंक सुधारका निमित्त विभिन्न सुझावसहितको धारणा राखेको जनाइएको छ । टिप्पणी एवं जिज्ञासाबारे बैंकका अध्यक्ष डा. पाठकले जवाफ दिएका थिए ।
बैंकको हाल सात प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित दुई सय ६४ शाखा, ४६ एक्सटेन्सन काउन्टर, दुई सय ६८ एटिएम र एक सय दुई शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको जनाएको छ ।
