गोरखा नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण नाम राख्न श्रेष्ठको माग

२६ पुष २०७९, मंगलवार ११:३१

गोरखा नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण शाहको नाम राख्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन कुमार श्रेष्ठले माग गरेका छन् ।

राष्ट्र निर्माता निर्माता पृथ्वीनारायण शाहलाई राज्यकोतर्फबाट दिइने सम्मानमा कुनै कञ्जुस्याइँ गरिन नहुने भन्दै उनले यस्तो माग गरेका हुन् ।

उनले भने, ‘गोरखा नेपाली इतिहासको ऐतिहासिक भूमि रहेकोमा कसैको विमति छैन । जिल्लाको नामाकरण नै गोरखा छ, यसले हाम्रो गौरव प्रतिबिम्बित गरिरहेको छ । पृथ्वी भूमि भएको नगरपालिकाको नाम गोरखा कायम राखिराख्नु जरुरी छैन, नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण नगरपालिका बनाऔं ।’

सदरमुकाम क्षेत्र भएको नगरपालिकाको नाम शुरुआती अवस्थामा पृथ्वीनारायण नगरपालिका नै राखिएको स्मरण गर्दै श्रेष्ठले अकारण नाम परिवर्तन गरिएको पनि बताए ।

उनले भने, ‘नेपाल सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मानको पुनः थालनी गरेको परिवर्तित सन्दर्भमा गोरखा नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण नगरपालिका कायम गर्न गोरखा नगर कार्यकारिणी समिति, गोरखाका आम बुद्धिजीवी, व्यवसायी लगायत आम गोरखाबासीको ध्यानाकर्षण गराउँदछु ।’

सरकारले पुस २७ गते पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिरेको छ ।