‘विष्णुभक्त रङ्गकर्मी सम्मान २०७९’ वरिष्ठ कलाकार रामचन्द्र अधिकारीलाई प्रदान

२४ पुष २०७९, आईतवार १२:४०

वरिष्ठ कलाकार रामचन्द्र अधिकारीलाई वरिष्ठ रङ्गकर्मी एवं कलाकार विष्णुभक्त फुयाँलको सम्झनामा स्थापित २५ हजार नगद राशिले सम्मान गरिएको छ। वरिष्ठ कलाकार अधिकारीलाई ‘विष्णुभक्त रङ्गकर्मी सम्मान २०७९’ प्रदान गरिएको हो।

शनिवार विष्णुभक्त– तारादेवी स्मृति गुठीद्वारा आयोजित स्मृति सभा कार्यक्रममा कलाकार रामचन्द्र अधिकारीलाई सो सम्मान गरिएको हो । २०७३ साल पुस १९ गते सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले तयार गरेको नाटक यज्ञवल्क्यका राजा जनकको भूमिकामा अभिनय गर्दा गर्दै मञ्चमै कलाकार फुयाँलको निधन भएको थियो ।

करिब ४ दशकभन्दा बढी समय नेपाली रङ्गमञ्चमा बिताएका कलाकार फुयाँलको स्मृतिमा हरेक वर्ष वरिष्ठ कलाकारहरूलाई सम्मान गरिँदै आइरहेको छ । सोही क्रममा चार दशकदेखि नेपाली नाट्य एवं चलचित्र क्षेत्रमा क्रियाशील रहेका कलाकार रामचन्द्र अधिकारीलाई सम्मान गरिएको हो ।

कुसुम नाट्य समूहका निर्देशक एवं रङ्गकर्मी वैकुण्ठ भण्डारीको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले यस वर्षको पुरस्कारका लागि अधिकारीलाई चयन गरेको थियो । यसअघि सो सम्मानबाट राजेन्द्र गड्तौला, रमेश केसी मट्टारे, लक्ष्मणसिंह बस्नेत, पल्पसा डंगोललाई प्रदान गरिएको छ । हरेक वर्ष पुस १९ गते फुयाँलको निधनकै दिन स्मृति सभा आयोजना गरी पुरस्कार घोषणा गर्ने गरिन्छ ।

कार्यक्रममा फुयाँलकी धर्मपत्नी तारा फुयाँलको नाममा स्थापित तारादेवी नारी प्रतिभा पुरस्कार मेनुका कटवाललाई प्रदान गरिएको छ । सम्मान कार्यक्रममा गुठीका संरक्षक एवं फुयाँलका छोरा विमल फुयाँलले आफ्नो बुवाले कलाकारिता क्षेत्रका माध्यमबाट श्रमको सम्मान गर्न सिकाएको बताए । उनले श्रमको सम्मान गर्नका लागि आफूहरू बुवाको आदर्शलाई पछ्याइरहने उनले बताए ।

विष्णुभक्तफुयाँलले आफूलाई चलचित्र बलिदानदेखि अन्य समयमा पनि अभिभावकत्व प्रदान गरेको कार्यक्रममा सम्मानित कलाकार रामचन्द्र अधिकारीले स्मरण गर्दै र आफू अन्यायमा पर्दा सधैँ अन्यायका विरुद्ध लड्न प्रेरित गरेको समेत स्मरण गरे ।