नेकपा एसले वर्तमान सरकारलाई विश्वासको मत देला त ?

१९ पुष २०७९, मंगलवार १६:११

नेकपा (एकीकृत समाजवादी) पार्टीले वर्तमान सरकारमा जाने वा नजाने विश्वासको मत दिने वा नदिने निर्णय गर्ने जिम्मा केन्द्रीय सचिवालयलाई दिइएको छ ।

सोमबार र मंगलबार बसेको पोलिटब्युरो कमिटीको बैठकपछि पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले गठबन्धनको तर्फबाट औपचारिक प्रस्ताव नआएकाले अहिले नै निर्णय नलिइएको बताए ।

“सरकारको तर्फबाट औपचारिक प्रस्ताव राखेको छैन । सरकारप्रति धारणा नकारात्मक छैन,” उनले भने, “सरकारमा जाने वा नजाने, समर्थन गर्न वा नगर्ने भन्नेमा अन्य राजनीतिक दलको भूमिका अध्ययन गनुपर्ने भएकाले निष्कर्ष निकाल्छौँ । त्यसको निर्णय सचिवालयले गर्नेछ ।”

सरकारलाई विश्वासको मत दिने वा नदिने भन्ने निर्णय पार्टीको सचिवालय नै गर्ने उनको भनाइ छ । वामपन्थीबीच एकताको गृहकार्य गर्न पनि केन्द्रीय सचिवालयलाई जिम्मा दिइएको खतिवडाले जानकारी दिए ।