काठमाडौँ महानगरको निर्णय बन्यो विवादित

१८ पुष २०७९, सोमबार १४:५७

टुँडिखेल संरक्षण अभियान ‘अकुपाइ टुँडिखेल’ले खुलामञ्चलाई पार्किङस्थल बनाउन लागिएको भन्दै विरोध गरेको छ।

काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा तीन तले भूमिगत पार्किङ बनाउने योजना अगाडि सारेपछि अभियन्ताहरुले सोमबार महानगरको निर्णयको विरुद्धमा प्रदर्शन गरेका हुन्। उनीहरुले महानगरपालिकाको केन्द्रीय कार्यालय बागदरबारअगाडि विरोध प्रदर्शन गरेका छन्।

अभियन्ताहरुले टुँडिखेल (खुलामञ्च) को ऐतिहासिक तथा पुरातात्विक महत्व मासिने गरी पार्किङ बनाउन नहुने बताउँदै विरोध गरेका थिए। स्थानीयवासी र संरक्षण अभियान्ताहरुले सोमबार विरोध जनाउँदै महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डंगोललाई ज्ञापनपत्रसमेत बुझाएका छन्। टुँडिखेललाई पुरानै अवस्थामा फर्काउनुपर्ने उनीहरुको माग छ।

खुलामञ्चमा अण्डरग्राउण्ड पार्किङको सोच नै गलत रहेको अभियन्ताहरुले बताउँदै आएका छन्। विरोध कार्यक्रममा बोल्दै अकुपाइ टुँडिखेल अभियानका प्रवक्ता सञ्जय अधिकारीले सार्वजनिक जग्गालाई सबैले संरक्षण गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताए। उनले जनतादेखि जनप्रतिनिधिहरु सार्वजिनक जग्गा संरक्षणका लागि गम्भीर हुनुपर्ने आवश्यकता रहेको बताए।

उनले महानगरपालिकाको अहिले आएको युवा नेतृत्वले सार्वजनिक जग्गालाई सरकारी जग्गा बुझेर जनभावनाविपरीत काम गरिरहेको आरोप लगाए। महानगरपालिका सार्वजिनक जग्गाको संरक्षक भए पनि मालिक नभएको उनको भनाइ छ।

त्यस्तै, अभियानको कार्यक्रममा सहभागी बनेका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले काठमाडौँजस्तो ऐतिहासिक र साँस्कृतिक ठाउँमा जथाभावी संरचना बनाउन नमिल्ने बताए। उनले टुँडिखेलजस्तो ऐतिहासिक स्थानमा अण्डरग्राउण्ड पार्किङजस्ता कुनै पनि संरचना बनाउन दिनु नहुने बताए।

गत कात्तिकमा काठमाडौँ महानगरपालिकाको १० औँ कार्यपालिका बैठकले खुलामञ्चमा ‘ट्रिपल बेसमेण्ट’ पार्किङ र पानी पुनर्भरण पिटको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्ने निर्णय गरेको थियो। अहिले महानगरपालिकाको उक्त निर्णय विवादित बनेको छ।