के नेकपा एसले एमालेसँग एकता गर्ला त ?

१६ पुष २०७९, शनिबार १४:२२

नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका दलहरुको गठबन्धन सरकारमा जाने वा नजाने बारे नेकपा एकीकृत समाजवादीले निर्णय गर्ने भएको छ ।

शनिबार पार्टी कार्यालय बसिररहेको स्थायी कमिटीको बैठकले यसबारे निर्णय गर्ने स्थायी कमिटी सदस्य भबिशोर पराजुलीले जानकारी दिए ।

जारी बैठकमा वर्तमान समसामयिक विषयमा छलफल भइरहेको छ । सरकारमा जाने वा नजानेबारे आजको बैठकले निर्णय गर्ने उनले बताए । बैठकमा पार्टीको भावी कार्ययोजनाको बारेमा व्यापक छलफल गर्ने र गत निर्वाचनमा अपेक्षा गरे अनुसार किन मत आएन भन्ने बारेमा गंभीर ढंगले छलफल हुने उनले बताए ।

एमालेसँग एकता हुनेबारे पार्टीमा हालसम्म कुनै छलफल नचलेको र अहिलेको सन्दर्भमा कुनैपनि पार्टीसँग एकता नगर्ने पक्षमा पार्टी रहेको उनले बताए । एमालेसँग एकता केबल हल्ला मात्र रहेको उनले बताए । जारी बैठकमा पार्टी अध्यक्ष माधव नेपालले बैठकका एजेण्डा प्रस्तुत गरेका छन् भने वरिष्ठ नेता झलनाथ खनालले अहिलेको समसामयिक अवस्थाको बारेमा ब्रिफिङ गरेका छन् ।

स्थायी कमिटी सदस्यले बैठकमा आफ्नो धारणा राख्दैछन् । अकस्मात नयाँ गठबन्धन कसरी बन्यो र अब एकीकृत समाजवादी कसरी अगाडि बढ्ने भन्ने बारेमा ब्यापक छलफल हुनेछ । बैठकको एजेण्डा र छलफल गर्नुपर्ने विषय धेरै भएकोले बैठक भोलिसम्म चल्ने नेता पराजुलीले बताए ।