गृह मन्त्रालयले राष्ट्रिय परिचय पत्र वितरण गर्न सहज बनायो

१६ पुष २०७९, शनिबार १३:३१

राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरण गर्न सहज बनाउन गृह मन्त्रालयले विज्ञको टोली खटाएको छ।

नागरिकलाई सहजरूपमा राहदानी, नागरिकता र परिचय पत्र वितरण गर्न विज्ञको टोली खटाएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेल बताएका छन्। चार विज्ञ सदस्यीय टोलीले तीन दिन यता राहदानी विभागसँग समन्वय गरी काम गरिरहेको छ।

राहदानी वितरणमा सबैभन्दा बढी भीड हुने देखिएको हुँदा सुरूमा त्यहीँ केन्द्रीत भएर काम अघि बढेको पनि प्रवक्ता पोखरेलले बताए।

‘तीन दिन भयो विज्ञको टोली खटिएको, समस्या के हो पहिचान गरी आफैंले सक्ने भए समाधान पनि गर्ने र नभए सहयोग माग्ने गरी खटाइएको छ,’ उनले भने।

गत सोमबार पुस ११ गते बसेको मन्त्रिपरिषदको पहिलो बैठकले लामो लाइन बस्नुपर्ने बाध्यतालाई हटाउने निर्णय गरेको थियो। गृह मन्त्री रवि लामिछानेले उक्त निर्णय गरेपछि राहदानी विभागमा पुगेर समस्याबारे बुझेका थिए।