नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बालकोट बैठकले प्रधानमन्त्री बनाउने निर्णय गरेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति भएको छ।
सत्तारुढ गठबन्धनमा कुरा नमिलेपछि प्रचण्ड आज बालुवाटार बैठक छाडेर बालकोट पुगेका थिए। बालकोटमा प्रचण्ड र ओलीसँगै अन्य सात दलका नेताहरु पनि थिए। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनता समाजवादी पार्टीका नेता अशोक राई पनि सहभागी थिए। उनीहरुभन्दा अघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि ओलीसँग छलफल गरि बाहिरिएका थिए।
राजनीतिक दल बालकोट केन्द्रित हुँदा जनमत पार्टीका अध्यक्ष सिके राउत पनि सो बैठकमा सहभागी भएका थिए। २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ जनाको मत आवश्यक पर्छ। बालकोट बैठकमा सहभागी सबै दल मिलाएर सो संख्या कट्छ।
प्रतिनिधिसभामा एमालेको समानुपातिकमा ३४ र प्रत्यक्षको ४४ गरि ७८ सिट छ भने माओवादी केन्द्रको प्रत्यक्षमा १८ र समानुपातिकमा १४ गरि ३२ सिट छ। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको प्रत्यक्षमा ७ र समानुपातिकमा १३ गरि २० सिट, राप्रपाको प्रत्यक्षमा ७ र समानुपातिकमा पनि ७ गरि १४ सिट, जनता समाजवादी पार्टी प्रत्यक्षमा ७ र समानुपातिकमा ५ गरि १२ सिट र जनमत पार्टीको समानुपातिकमा ५ र प्रत्यक्षमा १ गरि ६ सिट छ। यस्तै, नागरिक उन्मुक्ति पार्टीले पनि प्रचण्डको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने बुझिएको छ। नागरिक उन्मुक्ति पार्टीसँग ४ सिट छ।
यो सबै दलको सिट मिलाउँदा १६६ पुग्छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले भने आफूहरुसँग १६६ जनाको बहुमत पुगेको दाबी गरेका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड १६६ जना सांसदहरुको समर्थनसहित प्रधानमन्त्री बन्ने भएका छन्।
यद्यपि एमालेसहित दलहरुको सहमतिअनुसार पुष्पकमल दाहाल प्रचण्ड २ वर्ष प्रधानमन्त्री बनेपछि बाँकी ३ वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सहमति पनि नेताहरुबीच भएको छ।
