नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पछिल्लो घटनाक्रमले फेरि इतिहासको दुखान्त पुनरावृत्ति अगाडि आएको जनाएको छ । आफू तल पर्दा सहमति गर्ने तर आफू माथि पुगेँ भन्ने भान पर्न थाल्दा सहमति तोडिहाल्ने प्रवृत्ति खतरनाक रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए ।
मल्लले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली राजनीतिको एउटा खराब चित्र र चरित्र यस्तो हुँदै आयो, आफू तल पर्दा एउटा सहमति गर्ने तर आफू माथि पुगेँ भन्ने भान पर्न थाल्दा सहमति तोडिहाल्ने । पछिल्लो घटनाक्रमले के देखाउँछ कि इतिहासको फेरि दुखान्त पुनरावृत्ति हाम्रा सामु छ।’
सत्ता गठबन्धनमा भागबण्डाको विषयमा पूर्वसहमति पालनामा कांग्रेस इमानदार नभएको उनको संकेत छ । कांग्रेसले माओवादी केन्द्रलाई प्रधानमन्त्री र राष्ट्रपति दुवै दिन नसक्ने अडान लिएको छ । यता, माओवादीले भने कांग्रेस ब्याक नभए गठबन्धनको औचित्य सकिने निष्कर्षमा छ ।
माओवादी पदाधिकारी बैठक चलिरहेका बेला कांग्रेस नेता विमलेन्द्र निधि खुमलटार पुगेर अध्यक्ष प्रचण्डसँग छलफल गरेका छन् । प्रचण्डसँगको छलफलमा नेता निधिले गठबन्धन कायम राख्न पनि सहमति जरुरी रहेको भन्दै विकल्प नसोच्न आग्रह गरेका छन् । त्यस क्रममा निधिले प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले छोड्न नसक्ने बताएका थिए ।
